काठमाडौँ । रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले गत आर्थिक वर्षमा ५० करोड २० लाख रुपैयाँ बजेट खर्च गरेको छ ।
गत आर्थिक वर्षको लागि विनियोजन गरिएको ६८ करोड ७ लाख रुपैयाँ बजेटमध्ये गाउँपालिकाले ५० करोड २० लाख रुपैयाँ मात्रै बजेट खर्च गर्न सकेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किश्वरी प्रसाद साहले दिएको जानकारी अनुसार पुँजीगत बजेट १५ करोड २ लाख रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाले पुँजीगततर्फ २४ करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । पुँजीगत बजेट कुल विनियोजनको जम्मा ६०.४१ प्रतिशत मात्रै खर्च भएको हो ।
चालु खर्च भने ८१.४३ प्रतिशत खर्च भएको छ । गाउँपालिकाले चालुतर्फ ४३ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा ३५ करोड १८ लाख रुपैयाँ खर्च गरेको छ ।





