राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौं। नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ मा १५औँ संशोधन गरेको छ ।
    
भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको परिपत्रअनुसार संशोधित व्यवस्थाबमोजिम अब भुक्तानी सेवा प्रदायकको अनुमतिप्राप्त संस्थाले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसारको विवरणसमेत यकिन गरी वालेट खोल्नुपर्नेछ ।
    
त्यस्तै, अनुमतिप्राप्त संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल ‘एप्लिकेसन’ वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्रको विवरण भए वा नभएको स्वघोषणा लिनुपर्ने व्यवस्था गरिएको छ ।
    
निर्देशिकाअनुसार राष्ट्रिय परिचयपत्र लिएका नेपाली नागरिकले २०८३ असोज मसान्तभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्नेछ ।

राष्ट्रिय परिचयपत्र नलिएका प्रयोगकर्तालाई भने परिचयपत्र लिएपछि विवरण अद्यावधिक गर्न प्रत्येक महिनासमेत जानकारी गराउने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
    
विदेशमा बसोबास गर्ने नेपाली नागरिकले विदेशबाटै अनलाइनमार्फत आवश्यक कागजातका आधारमा विद्युतीय वालेट खोल्न सक्ने व्यवस्था यथावत् राखिएको छ । 

यस्ता प्रयोगकर्ताले नेपाल फर्किएको ६ महिनाभित्र राष्ट्रिय परिचयपत्रको विवरण सम्बन्धित संस्थामा अद्यावधिक गर्नुपर्ने केन्द्रीय बैंकको भनाइ छ ।
    
यसैगरी, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने अशक्त तथा असहाय नागरिकका हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरबाहेक अन्य आवश्यक कागजातका आधारमा समेत वालेट खोल्न र कारोबार गर्न सकिने व्यवस्था संशोधित निर्देशिकामा गरिएको छ ।

प्रकाशित मिति: शनिबार, साउन ९, २०८३  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update