एमाले र नेपाली कम्युनिष्ट पार्टीबिच प्रदेश सरकार गठनबारे ३ बुँदे सहमति

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबिच प्रदेश सरकार गठन तथा सहकार्यका विषयमा ३ बुँदे सहमति भएको छ।

प्रदेश सभाहरूमा देखिएको राजनीतिक असझदारी र अस्थिरतालाई अन्त्य गर्दै प्रादेशिक विकासलाई तीव्रता दिन दुई दल सहमतिमा पुगेका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' द्वारा हस्ताक्षरित सहमति पत्रमा प्रदेश सभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने उल्लेख छ।

सहमति अनुसार कुन प्रदेशको नेतृत्व कसले गर्ने?

१. नेकपा (एमाले) को नेतृत्व: कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा संयुक्त सरकारको नेतृत्व नेकपा (एमाले) ले गर्नेछ।

२. नेपाली कम्युनिष्ट पार्टीको नेतृत्व: कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सरकारको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ।

३. मधेश र गण्डकी प्रदेशको हकमा: मधेश प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमति भएको छ।

प्रदेश सभामा बजेट निर्माणमा देखिएका असमझदारी, बजेटविहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धालाई समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि यो कदम चालिएको सहमति पत्रमा उल्लेख छ।

प्रकाशित मिति: शनिबार, साउन ९, २०८३  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update