सुनसरी घटनाबारे मध्यरातमा प्रधानमन्त्रीको फेसबुक स्टाटस, –दोषीमाथि कारबाही हुन्छ

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको दुई समुदायबीचको झडपप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। 

मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

सुनसरीमा दुई समुदायबीच भएको झडप रोक्न प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने अन्य डेढ दर्जन बढी घाइते भएका छन् । 

तर घटनाको २ दिन बितिसक्दा पनि प्रधानमन्त्री माैन बसेको भन्दै चाैतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्रीले मध्यरातमा स्टाटस लेखेका हुन्।

जसनमा उनले घटनाबाट प्रभावित परिवारको पीडा सरकारले महसुस गरेको बताउँदै न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु गम्भीर विषय भएको बताउँदै त्यसबारे अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन्। 

सरकारले सम्पूर्ण घटनाको गम्भीर समीक्षा गरिरहेको र यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय तथा सुधारका कदम चालिने उनको भनाइ थियो ।  

उनले नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबैलाई आह्वान गरेका छन्। 

प्रधानमन्त्रीले स्टाटसमा लेखेका छन्, 'फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुस, रिस, डर, आक्रोशलाई हटाउनु होला । उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनूहोला । सुरक्षित र संयमित भएर बसौँ । एकअर्कालाई प्रेम र सम्मान गरौँ । सामाजिक सद्भाव कायम राखौँ ।” 

मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु रहेको  उल्लेख गर्दै उनले लेखेका छन्, 'सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो । सरकारले यो सबै काम यथाशक्य चाँडो गर्नेछ ।'

सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, पीडितलाई न्याय दिलाउनु र दोषीलाई कानुनी दायरामा ल्याउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सो दायित्व पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
 

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update