काठमाडौँ । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर र शिक्षण सिकाइ प्रक्रियालाई थप व्यवहारिक र प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले ‘स्रोत शिक्षक’हरुसँग कार्य सम्पादन करार सम्झौता गरेको छ ।
सम्झौता पत्रमा विभागका प्रमुख नमराज ढकाल र स्रोत शिक्षकहरुले हस्ताक्षर गरेका छन् । स्रोत शिक्षक व्यवस्थापन कार्यविधि, २०८० र शिक्षा तथा स्वास्थ्य समितिले साउन २२ गते गरेको निर्णयका आधारमा सम्झौता गरिएको महानगरले जानकारी दिएको छ ।
स्रोत शिक्षकले आफ्नो कार्यक्षेत्र भित्रका विद्यालयहरूको शिक्षण सिकाइ वातावरण सुधार गर्न मासिक तथा साप्ताहिक कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्नेछ । महानगरको शैक्षिक नीति र कार्यक्रमहरूलाई विद्यालय स्तरमा प्रभावकारी रूपमा लागू गराउन सहजीकरण गर्ने, शिक्षकहरूको पेशागत विकासमा सहयोग गर्ने र विद्यालयका समस्या समाधानका लागि समन्वय गर्ने दायित्व स्रोत शिक्षकलाई प्रदान गरिएको छ ।
स्रोत शिक्षकले आफ्नो पदाधिकार रहेको विद्यालयमा अनिवार्य रूपमा दैनिक न्यूनतम एक घण्टी कक्षा लिनुपर्नेछ । विद्यालय समयमा इहाजिरी मार्फत उपस्थिति जनाउनुपर्नेछ । स्रोत शिक्षकले तालिम लगायत कार्यक्रममा सहभागी भएर कक्षा लिन नसक्ने भएमा महानगरपालिकाले सट्टा शिक्षकको व्यवस्था गर्नेछ ।
यो सम्झौता २०८४ असार मसान्तसम्मका लागि हो । विभागीय प्रमुख ढकालका अनुसार स्रोत शिक्षकको कार्यसम्पादन मूल्याङ्कनलाई करारमा उल्लिखित लक्ष्य प्राप्ति र सूचकहरूको प्रगतिका आधारमा आबद्ध गरिनेछ ।
‘सामुदायिक शिक्षाको गुणस्तरलाई प्रतिस्पर्धी बनाउन योजनावद्ध शिक्षण सिकाइ र बालमैत्री वातावरण बनाउनु पर्छ । हामीलाई यो लक्ष्यमा रोकिने र मोडिने छुट छैन,’ विभागीय प्रमुख ढकालले भने ।
स्रोत केन्द्र र स्रोत शिक्षक काठमाडौँ महानगरपालिका अन्तर्गत साविकमा भएका ११ वटा स्रोत केन्द्रलाई अहिले ९ वटामा कायम गरिएको छ । शान्ति निकुञ्ज मावि भगवतीबारी, टङ्गाल मावि टङ्गाल, जनप्रभात मावि कालीमाटी, पद्मकन्या मावि डिल्लीबजार, कोटेश्वर सरस्वती मावि कोटेश्वर, पशुपति मित्र मावि चाबहिल, गुहेश्वरी मावि सिनामङ्गल, शान्ति शिक्षा मन्दिर मावि ठँहिटी र तरुण मावि बालाजु स्रोत केन्द्र हुन् ।
शान्ति निकुञ्ज मावि भगवतीबारी स्रोत केन्द्रले वडा नम्बर ११, १५, १९, २०, २१, २२ र २३ का १५ वटा सामुदायिक र ४६ वटा संस्थागत विद्यालय हेर्नेछ । यस केन्द्रको स्रोत शिक्षक दिनेश केसीलाई दिइएको छ । टङ्गाल केन्द्र अन्तर्गत वडा नम्बर २, ३, ४, ५ र ३० का ८ वटा सामुदायिक र ७१ वटा संस्थागत विद्यालय छन् । यस केन्द्रको स्रोत शिक्षक प्रतिमा दुलाललाई दिइएको छ । जनप्रभात मावि केन्द्रले वडा नम्बर १२, १३ र १४ का १० वटा सामुदायिक र ४४ वटा संस्थागत विद्यालय हेर्छ । यस केन्द्रको स्रोत शिक्षकको जिम्मेवारी कमलप्रसाद भट्टलाई दिइएको छ ।
पद्मकन्या माविमा स्रोतमा खगराज जोशीलाई स्रोत शिक्षकको जिम्मेवारी दिइएको छ । यस केन्द्रले वडा नम्बर १, १०, २७, २८ र २९ का ११ वटा सामुदायिक र ३२ वटा संस्थागत विद्यालय हेर्नेछ । कोटेश्वर सरस्वती केन्द्रले वडा नं. ३२ र कारागार क्षेत्रका गरी ५ सामुदायिक विद्यालय र ४६ वटा संस्थागत विद्यालय हेर्नेछ । यस केन्द्रको जिम्मेवारी सुशील खनाललाई तोकिएको छ । पशुपति मित्र केन्द्रमा नारायण नेपाललाई स्रोत शिक्षकका रुपमा खटाइएको छ । यस केन्द्र अन्तर्गत वडा नम्बर ६ र ७ का ८ वटा सामुदायिक र ७० वटा संस्थागत विद्यालय पर्छन् । गुहेश्वरी मावि केन्द्रले वडा नम्बर ८, ९ र ३१ का ८ वटा सामुदायिक र ४९ वटा संस्थागत विद्यालय हेर्नेछ । यसको जिम्मेवारी रमेसकुमार दर्जीलाई दिइएको छ ।
शान्ति शिक्षा मन्दिर केन्द्रमा रश्मी तामाङ्लाई स्रोत शिक्षकका रुपमा खटाइएको छ । यस केन्द्रले वडा नम्बर १७, १८, २५, २६ र २७ का १३ वटा सामुदायिक र २५ वटा संस्थागत विद्यालय हेर्छ । तरुण मा। वि। केन्द्रले वडा नम्बर १६ का ६ वटा सामुदायिक र ४६ वटा संस्थागत विद्यालय हेर्छ । कपिलजङ्ग पाण्डेलाई यस केन्द्रको स्रोत शिक्षकको जिम्मेवारी प्रदान गरिएको छ ।



