काठमाडौँ । ओपी मिडिया प्रालिले संचालन गरेको वडापालिका डटकमबाट वरिष्ठ पत्रकार तथा विश्लेषक सरोज मिश्रको प्रत्येक्ष विचार ‘सरोज मिश्र अनफिल्टर्ड’ प्रकाशन प्रसारण हुने भएको छ ।
वडापालिका डटकम, वडापालिकाको युट्युव च्यानल र आधिकारिक फेसबुक पेज तथा इन्स्टाग्राम र टिकटकबाट सो विचार प्रकाशन प्रसारण हुने ओपी मिडिया व्यवस्थापनले जानकारी दिएको छ ।
सरोज मिश्र वरिष्ठ पत्रकार हुन् । उनले २०४३ सालदेखि विश्व सन्देश, विश्वदुत, वार्तालाप जस्ता साप्ताहिक पत्रिकामा खेलकुद र अन्तरराष्ट्रिय विधामा समाचार तयार पारेर पत्रकारिता सुरु गरेका थिए । यद्यपि, सो समयमा उनी नेपाल बैंकमा जागिरे थिए । २०४० सालदेखि नेपाल बैंकमा जागिर सुरु गरेका मिश्रले २०४५ सालदेखि भने कृषि विकास बैंकमा जागिर गरेका थिए ।
जागिर जीवनमै उनी भूमिगत रुपमा पत्रकारितामा संलग्न थिए । नेपालमा बहुदलीय व्यवस्था स्थापना गर्नको लागि सक्रिय रहेको मिसन पत्रकारितामा मिश्र पनि सहभागी थिए । उनी २०४५ सालदेखि पुनर्जागरण साप्ताहिकमा भूमिगत रुपमै संलग्न भएका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका मिश्रले २०५१ सालमा कृषि विकास बैंकका तत्कालिन महाप्रवन्धक डा. तिलकबहादुर रावलसँग विवाद भएपछि राजीनामा गरेका थिए । त्यसपछि उनी पाकिस्तान गएर एमबीए गरे भने सो अध्ययन पूरा भएपछि इजरायलबाट ग्रामीण विकास विषयमा पोस्ट डिप्लोमा ग्राजुयट गरेका थिए । त्यसपछि नेपाल फर्केका मिश्रले आफ्नो मात्रै लगानीमा २०५७ साल साउनमा सत्याग्रह साप्ताहिक सुरु गरेका थिए । सत्याग्रह साप्ताहिकको पहिलो अंक भारत निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामाको अन्तरवार्ता छापिएको थियो । मिश्र र अर्का पत्रकार अनारसिंह कार्कीले तिब्बती धर्मगुरु लामा बसेको भारतको हिमान्चल प्रदेशमा रहेको धर्मशालामै गएर अन्तरवार्ता लिएका थिए ।
सत्याग्रह साप्ताहिक पछि मिश्र राजधानी दैनिकको सम्पादक बनेका थिए ।
मिश्र नेपालको नाम चलेका व्यवस्थापन विषयका शिक्षकका रुपमा अग्रपंतिमा छन् । उनी हाल काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसुम) मा एमविए अध्यापन गराउँछन् । मिश्रले एपेक्स, सायम, ग्लोबल जस्ता काठमाडौँका प्रख्यात कलेजहरुमा अध्यापन गराएका छन् ।
वडापालिकामा मिश्रले अवदेखि साप्ताहिक रुपमा ‘अन क्यामेरा भिउज’ (प्रत्येक्ष विचार) प्रवाह गर्नेछन् । उनले समसामयिक राजनीति, अन्तराष्ट्रिय राजनीति, आर्थिक तथा सामाजिक विषयवस्तुमा आफ्नो प्रस्तुती दिनेछन् । मिश्रले संचालन गर्ने ‘सरोज मिश्र अनफिल्टर्ड’ प्रत्येक साताको मंगलबार साँझ ७ बजे प्रकाश प्रशारण हुने ओपी मिडिया व्यवस्थापनले जानकारी दिएको छ ।



