काठमाडौँ महानगरको गत वर्षको औसत खर्चः विभागहरुको ३८ र वडाहरुको ६४ प्रतिशत

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्षमा २०८२र०८३ मा कुल बजेटको ५८.५५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । 

महानगरपालिकाले दिएको जानकारी अनुसार यसमा विभागहरुको औसत खर्च ३८.३४ र वडाहरुको ६३.९१ प्रतिशत छ । योजना अनुगमन तथा मूल्याङ्कन एकाइले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा यस सम्बन्धी जानकारी दिइएको हो ।  

‘यो प्रगति विगतको तुलनामा उच्च हो । अर्थात इतिहास हो । प्रगतिमा हामीले यस वर्ष नयाँ इतिहास बनाउनुपर्छ । प्रगति बढाउनुपर्छ,’ समीक्षामा कार्यवाहक मेयर सुनिता डंगोलले भनिन् ।

नतिजा प्राप्त गर्न प्रयत्न गर्ने जनप्रतिनिधि र कर्मचारीप्रति उनले कृतज्ञता प्रकट गरिन । महानगरका कार्यक्रमलाई नागरिकसँग प्रत्यक्ष जोड्नु पर्ने, खरिद प्रक्रिया असोजभित्र सक्नु पर्ने उनको भनाइ छ । कार्यवाहक मेयर डंगोलले नागरिकलाई कागजपत्र होइन, भाषण होइन, फिल्डमा देखिने काम चाहिएको बताइन् । उन अब काममा गियर चेञ्ज गरेर जनताले महसुस गर्ने काम गर्नुपर्ने पनि बताइन ।

कार्यवाहक मेयर डंगोलले पहुँचयुक्त पूर्वाधार र वातावरणमैत्री विकासमा जोड दिइन् । कतिपय ठाउँमा सानातिना प्रयासले पनि नतिजा बढाउन सक्ने देखिएको भन्दै उनले यसको लागि पहल आवश्यक रहेको बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले नतिजा राम्रो भएको भन्दै काठमाडौँ महानगरपालिका देशको राजधानी शहर पनि भएकोले यति प्रगतिले नपुग्ने बताए । काठमाडौँले अरु स्थानीय सरकारलाई पनि सिकाइ हुने गरी प्रगतिको ढाँचा देखाउनु पर्ने भन्दै उनले विद्युतीय शासन प्रवर्धनमा जोड दिए ।

‘नागरिकले अहिले फेसलेस, पेपरलेस, क्यासलेस गभर्नेन्स चाहेका छन् । यसकारण अनलाइन प्रणालीको संस्थागत विकास र विस्तारमा सामुहिक प्रयास गरौँ,’ उनले भने ।

यस वर्षका लागि महानगरपालिको २५ अरब २६ करोड २६ लाख ३१ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसमध्ये १४ अर्ब ७९ करोड २० लाख ५२ हजार रुपैयाँ खर्च भयो । योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीले ७३.७१ प्रतिशत अर्थात ७ अर्ब  १२ करोड ७८ लाख रुपैयाँ चालु खर्च र ४९.०८ प्रतिशत अर्थात ७ अरब ६२ करोड ३२ लाख रुपैयाँ पूँजीगत खर्च भएको जानकारी दिइन् । 

राजस्व संकलनमा सुधार

राजस्व संकलनतर्फ महानगरले आन्तरिक आयमा सकारात्मक वृद्धि हासिल गरेको छ । यस वर्षका लागि १० अर्ब १२ करोड ६४ लाख रुपैयाँ आन्तरिक राजस्वको लक्ष्य राखेकोमा ६ अर्ब ८६ करोड ३८ लाख रुपैयाँ अर्थात ६७.७८ प्रतिशत लक्ष्य हासिल भयो । यो अघिल्लो वर्षको तुलनामा ९० करोड रुपैयाँले बढी हो ।

राजस्वका प्रमुख शीर्षकमा राखिएको लक्ष्यमध्ये सम्पत्ति करमा ७०.१२ प्रतिशत, बहाल करमा ६३.२२ प्रतिशत, नक्सापास दस्तुरमा ७८.६४ प्रतिशत र सिफारिस दस्तुरमा ८२.२३ प्रतिशत प्रगति भएको छ । यस वर्ष अनुदान र राजस्व बाँडफाँडसहित महानगरको कुल आम्दानी १२ अर्ब ४ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

 

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update