काठमाडौँ । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहले रसुवा वाढी प्रभावितलाई सहयोग र समन्वय गर्न विभिन्न ७ निर्णय गरेको छ ।
भदौ ११ गते बैठक बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कार्यमा मन्त्रालयको तर्फबाट आवश्यक सहयोग तथा समन्वयका लागि ७ निर्णय गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार बाढी प्रभावित जिल्लाका सबै स्थानीय तहलाई जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा परिचालित भई प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कार्यमा आवश्यक सहयोग र सहकार्य गर्न अनुरोध गर्ने निर्णय भएको छ ।
यस्तै, दोस्रो निर्णयमा विपद् उद्धार तथा राहतका लागि स्थानीय तहले विपद् व्यवस्थापन कोष तथा अन्य स्रोतबाट आवश्यक बजेट नियमानुसार परिचालन गर्ने भनिएको छ ।
मन्त्रालयले प्रभावित स्थानीय तहका कार्यालयहरुमा भएको क्षतिको विवरण सम्बन्धित स्थानीय तहमार्फत संकलन तथा अद्यावधिक गर्ने निर्णय पनि गरिएको छ ।
नापी विभागले प्रभावित क्षेत्रको निजी तथा सार्वजनिक जग्गाको क्षतिको विवरण संकलन र विपद् नक्साङ्कनको कार्य गर्ने निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ ।
अर्को व्यवस्था नभएसम्म बाढी प्रभावित जिल्ला तथा स्थानीय तहका कर्मचारीले आफ्नो कार्यस्थल नछोड्ने र कार्यस्थल बाहिर रहेका सबै कर्मचारीलाई अविलम्ब कार्यस्थलमा फर्कन सूचित गर्ने निर्णय भएको छ ।
राहत सामग्री व्यवस्थापन गर्न, लाभग्राहीको विवरण तयार गर्न तथा अन्य कार्यका लागि थप जनशक्ति व्यवस्था गर्नुपर्ने भएमा मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी उपलब्ध गराउने निर्णय गरिएको छ ।
विपद् सम्बन्धी कार्यमा समन्वय तथा सहयोगको लागि मन्त्रालयका विपद् सम्पर्क व्यक्तिको देहाय बमोजिमको विवरण सार्वजनिक गर्ने निर्णय पनि भएको छ । मन्त्रालयले विपद् व्यवस्थापन तथा सामाजिक समावेशीकरण शाखाका उपसचिव, दीपक ढकालको मोबाइल नम्बर ९८५११६४५८०८ र शाखा अधिकृत, तुलसीराम पौडेलको मोबाइल नम्बर ९८६७९२६९९३ पनि सार्वजनिक गर्ने निर्णय गरेको छ ।




