काठमाडौँ । पर्वत जिल्लाको पैयुँ गाउँपालिकाका कर्मचारीहरुले भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ३ दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
गाउँपालिकाका कर्मचारीहरुले विपद्को यस कठिन घडीमा बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सो रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
भोटेकोशी नदीको तटीय क्षेत्रमा आएको भीषण बाढीले जनजीवन अस्तव्यस्त बनाउनुका साथै ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि प्रभावित नागरिकको पीडामा ऐक्यबद्धता जनाउँदै गाउँपालिकाका कर्मचारीहरूले स्वतःस्फूर्त रूपमा उक्त सहयोग गर्ने निर्णय गरेका हुन्।
भोटेकोशी बाढीबाट भएको क्षति र प्रभावित नागरिकको पीडा अत्यन्तै हृदयविदारक रहेको उल्लेख गर्दै कर्मचारीहरूले विपद्को यस कठिन परिस्थितिमा आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गर्नु मानवीय दायित्व र सामाजिक उत्तरदायित्वसमेत भएको बताएका छन्।
यस सहयोगले विपद्मा परेका नागरिकको राहत तथा पुनःस्थापनामा केही भए पनि योगदान पुग्ने विश्वास गाउँपालिका परिवारले व्यक्त गरेको छ। साथै, विपद्को यस घडीमा प्रभावित परिवारप्रति हार्दिक सहानुभूति प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा विस्थापितहरूको सुरक्षित पुनःस्थापनाको कामना गरिएको छ।




