पर्वत । रसुवा जिल्लास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको अचानकको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति पर्वतको पैयुँ गाउँपालिकाले दुःख व्यक्त गर्दै बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
पैयुँ गाउँपालिकाका अध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक तोरण मल्ल ठकुरीको संयोजकत्वमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख रूपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।
गाउँपालिकाले जारी गरेको हार्दिक समवेदना एवं सहयोग सम्बन्धमा शीर्षकको पत्रमा प्राकृतिक विपद्का कारण अमूल्य जीवन गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ। साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै बाढीबाट प्रभावित तथा घाइते नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाको तर्फबाट उक्त रकम सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
यस दुःखद् घडीमा बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै पैयुँ गाउँपालिकाले राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढीपीडितका लागि राहत संकलन तथा विभिन्न निकायबाट सहयोग घोषणा हुने क्रम जारी रहेका बेला स्थानीय तहबाट समेत सहयोग जुट्न थालेको छ। पैयुँ गाउँपालिकाको यो निर्णयले विपद्मा परेका नागरिकको राहत तथा पुनर्स्थापनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।




