अन्तिमपटक देख्न पाए...

चितवन । भित्र शवगृह तयार हुँदैछ । बाहिर आफन्त र परिवारका सदस्यको भीड छ । भीडमा सन्नाटा छ । सबैका आँखा रसाएका छन् । अनुहार बेचैन देखिन्छ । त्यही भीडमा छन् – सिन्धुलीका रामबहादुर मोक्तान ।

रसुवाको टिमुरेमा बाढीमा बेपत्ता छोरा सञ्जयको शव भेटिने आशमा उनी चितवनको भरतपुर आइपुगेका छन् । रामबहादुरका दाइ रितबहादुर पनि भतिजको शव खोज्दै यतिबेला भरतपुरमा छन् । बिहीबार दिउँसो ३ बजेतिर उनीहरु औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको शव पहिचान केन्द्र आइपुगेका थिए । नारायणीमा भेटिएकाको शव केन्द्रमा राख्ने खबर पाएपछि दाजु–भाइ यहाँ आइपुगेका हुन् ।

रामबहादुरका ३१ वर्षीय छोरा सञ्जय टिमुरेमा ट्रक चलाउँथे । बुधबार बिहान साथीहरुसँग क्यारम खेलिरहेका थिए । त्यतिकैमा माथिबाट बाढी आएको थाहा भयो । सञ्जय र उनीसँगै रहेका अर्का एक युवक बाढीमा विलीन भए । ‘पाँच जना क्यारम बोर्ड खेल्दै रहेछन् । ५ सय मिटरमाथि बाढी आएको देखेपछि सबै भागेछन्,’ बुवा राम सुस्तो बोले, ‘३ जना बाँच्न सफल भएछन् । मेरो छोरा र अर्को मधेशतिरको एकजना बाढीमा परेछन् ।’

यो खबर सुनेपछि रामबहादुरलाई भोकनिद्रा परेको छैन । उनी सिन्धुलीबाट बिहीबार दिउँसो भरतपुर आइपुगे ।  बचाउन खोज्दा र तीन घण्टासम्म खोज्दा पनि भेटाउन नसकेको खबर प्रत्यक्षदर्शी गाउँकै युवकले रामबहादुरलाई सुनाएका छन् । त्यसैले उनलाई अब छोरा जीवितै भेटिने आश छैन । अब उनलाई शवको प्रतीक्षा छ । शव भेटेर अन्तिम संस्कार गर्ने धोको छ । ‘आत्तिएको छैन पनि कसरी भनूँ ? अब छोरा सकुशल भेटिने आश सयमा एक प्रतिशतमात्र छ !’ उनले अक्मकिँदै सुनाए ।

काठमाडौँमा बहिनी र माहिलो छोरा, रसुवामा पनि गाउँकै छिमेकीले छोरा सञ्जयको खोजी गरिरहेको उनले सुनाए । ‘काठमाडौँतिर अरुले खोज्दै छन् । यताबाट खोज्दै काठमाडौँ नै जाने हो । आज बिहानैदेखि हिँडेको हो,’ उनले थपे, ‘जहाँ–जहाँ लास छन्, त्यहाँ हेर्दै जाने अनि काठमाडौँ निस्कन्छु ।’ रसुवाबाट बेपत्ता सञ्जय चितवनमा भेटिने झिनो आश रामबहादुरलाई छ । त्यसैले उनी त्यहीँ पर्खिरहेका छन् । बेपत्ता सञ्जयको परिवारमा बुवासहित हजुरआमा, श्रीमती र ९ महिनाकी छोरी छन् ।

भरतपुर शुक्रनगरका चिन्तामणि काफ्लेको आँखा रसाउन रोकिएको छैन । रसुवामा कार्यरत भाञ्जा विष्णु भुसाल बुधबारदेखि सम्पर्कमा छैनन् । प्रहरीमा कार्यरत भाञ्जाको शव नारायणीमा भेटिएको छ कि भनेर उनी प्रतिष्ठानको शव पहिचान केन्द्र पुगेका थिए । शव राख्ने ठाउँ बनिरहेको खबर पाएपछि उनी पर्खिरहेका थिए । ‘छन् कि छैनन् निधो छैन । पहिचान हुन्छ कि, देख्न पाइन्छ कि भनेर आएको,’ उनी आशावादी सुनिए ।

बोलिरहँदा उनको गला अवरुद्ध भइरह्यो । उनले मलिन स्वरमा फेरि दोहोर्‍याए, ‘म शवलाई हेर्न मात्र आएको ।’ भाञ्जाको शव भेटिने आशमा उनी नारायणी किनारतिर पनि पुगेका थिए । त्यहाँ केही भेटिएन । नारायणीमा भेटिएका शव केन्द्रमा राखिने र त्यहाँबाट सनाखत गर्न सकिने थाहा पाएपछि उनी हस्याङफस्याङ गर्दै आइपुगे ।

चितवनको इच्छाकामनाका सुमन पुरी पनि रसुवा बाढीमा बेपत्ता छन् । बेपत्ता भाञ्जाको खोजीमा मामा रामकुमार पुरी शव पर्खिएकाको भीडमै थिए । त्रिशुली हाइड्रोपावरमा कार्यरत भाञ्जा दुई दिनसम्म सम्पर्क नभएपछि जीवित भेटिने आश उनलाई छैन । ‘शवको पहिचान हुने हो कि होइन । शव घरमा लगेर रीतिपूर्वक अन्तिम संस्कार गर्न पाए हुन्थ्यो,’ उनले सुनाए ।

अस्पतालको शव गृहबाहिर अन्य बेपत्ताका परिवार र आफन्तको भीड देखिन्थ्यो । थाहा छैन, हराएकाहरु भेटिन्छन्, भेटिँदैनन् । सबैलाई अन्तिमपटक ‘आफ्ना मान्छे’को अनुहार हेर्ने प्रतीक्षा छ । झिनो आशा छ ।

चितवनमा बिहीबार साँझसम्म १ सय ३५ वटा शव भेटिएका छन् । रसुवा, नुवाकोट, गोरखा, धादिङ हुँदै धेरै शव चितवनको नारायणीमा भेटिएका छन् । भरतपुर अस्पतालसँग १२ वटामात्र शव राख्न सक्ने क्षमता छ । अस्पतालले बाढीले चितवनमा पनि क्षति गर्नसक्ने आकलन गरेर उपचारका लागि बेड तयार पारेको थियो । चितवनमा बाढीले मानवीय क्षति भएन । तर, किनारतिर एकपछि अर्को शव भेटिन थालेका छन् । जसले गर्दा अस्पतालको शवगृहको क्षमताभन्दा कयौँ गुणा बढी शव चितवनमा भेटिएका छन् ।

शवको संख्या धेरै भएपछि बिहीबार बिहान जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो । यसपछि भरतपुर–१० स्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको एउटा पुरानो भवनमा पीडित परिवार सम्पर्क परामर्श केन्द्र र शव पहिचान केन्द्र स्थापना गरिएको छ । एसी, कुलर जडान गरेर यहाँ शव राख्न मिल्ने अस्थायी कुलिङ हल बनाइएको छ ।

तत्काललाई २ सय ५० वटासम्म शव राख्न मिल्ने गरी हल तयार पारिएको चितवनका एसपी रामेश्वर पौडेलले बताए । थप शव भेटिएमा अन्य कोठा प्रयोग गरेर ५ सय वटासम्म शव राख्न मिल्ने केन्द्र बनाउने तयारी छ । चितवन क्षेत्रबाट मात्र हालसम्म १ सय ३२ वटा शवहरू फेला परेका छन् । कतिपय शव सग्ला छन् भने कति अंगमात्र छन् ।

बाढीमा बेपत्ता आफन्त खोज्न भरतपुर अस्पताल पुगेका ठाकुरप्रसाद कँडेल बिहीबार बिहान भरतपुर अस्पतालको ‘पोष्टमार्टम घर’ पसेका थिए । त्यहाँ उनले आफूले खोजी गरेकालाई भेटेनन् । तर, भित्र जे देखे त्यो निकै कहालीलाग्दो थियो । ‘केही शवको टाउको नै छैन । केही शव चिनियाँ नागरिकजस्तो देखियो,’ उनले त्यहाँभित्रको अवस्था सुनाए ।

सबैजसो शव हिलाम्मे छन् । त्यसैले भेटिएका शव पहिचान गर्न सहज छैन । शवलाई सुरुमा भरतपुर अस्पतालको मर्चरीमा लगेर सफा गर्ने, ट्याग लगाउने र बडी ब्यागमा राख्ने काम भइरहेको छ । त्यसपछि, माइनस डिग्री सेल्सियस तापक्रम भएको पहिचान केन्द्रको विशेष कुलिङ हलमा राखिन्छ । आफन्त र परिवारका सदस्यले यहाँ राखिएका शव नेपाल प्रहरीको वेबसाइट र सामाजिक सञ्जालमार्फत पहिचान गर्न सक्ने एसपी पौडेलले बताए । शवको फोटो केन्द्रको भित्तामा पनि राखिने छ ।  

उनकाअनुसार बेपत्ताको खोजीका लागि सबैभन्दा पहिले जिल्ला प्रहरी कार्यालय चितवनमा निवेदन दिनुपर्नेछ । शव पहिचान भएपछि ट्याग नम्बरअनुसार शव गृहबाट पोष्टमार्टमका लागि लगिने छ । त्यसपछि परिवारलाई जिम्मा लगाइने छ । शव सनाखतपछि घरसम्म लैजान निशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ ।  

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  २२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update