फसेका नागरिकलाई आगो बालेर सिग्नल दिन गृहमन्त्रीको आग्रह

काठमाडौँ । भोटेकोशी नदी जलाधार क्षेत्र तथा रसुवाका बाढी प्रभावित स्थानहरूमा थप उद्धार सामग्रीसहित तीनवटै सुरक्षा निकायको संयुक्त टोली परिचालन गरिएको छ।

गृहमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को टोलीलाई आवश्यक निर्देशनसहित कार्यक्षेत्रमा बिदाइ गरेका छन्। उनले खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायबीच उच्चस्तरीय समन्वय र द्रुत परिचालनमा जोड दिए।

विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्रीले सरकारको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा रहेको बताए। अँध्यारो हुनुअगावै अधिकतम उद्धार कार्य सम्पन्न गर्न निजी प्रयोजनका सबै उडान रोकेर हेलिकोप्टरलाई उद्धारमै केन्द्रित गरिएको उनले जानकारी दिए।

"पहिलो प्राथमिकता उद्धार नै हो। हामीले सबै हेलिकोप्टर परिचालन गरिसकेका छौँ। अहिले निजी प्रयोजनका सबै उडान रोकेर हेलिकोप्टर रेस्क्युमा मात्र केन्द्रित गरिएको छ, किनकि रात परेपछि उद्धार थप कठिन हुन्छ। उद्धारलगत्तै राहत र सुरक्षित बसोबासको व्यवस्था मिलाइनेछ," गृहमन्त्रीले भने।

बाढीको वस्तुस्थितिबारे जानकारी दिँदै उनले माथिल्लो भेगमा हिमताल (ग्लेसियर) फुटेर भीषण बाढी आएकाले बस्तीहरूमा क्षति पुगेको र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताए। बाढीको सतह अझै करिब ७ मिटर उच्च रहेकाले सम्पूर्ण संयन्त्रलाई ‘हाई अलर्ट’ मा राखिएको उनले प्रस्ट पारे।

यसैबीच, गृहमन्त्रीले प्रभावित क्षेत्रमा फसेका नागरिकहरूलाई हेलिकोप्टरको ध्यानाकर्षण गराउन सुरक्षित स्थानमा आगो बालेर धुवाँमार्फत सिग्नल दिन विशेष आग्रह गरेका छन्। खुला तथा हेलिप्याड बनाउन मिल्ने ठाउँ नजिकै आगो बालिदिएमा उद्धार टोलीलाई लोकेसन पहिचान गर्न सहज हुने उनले बताए।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update