काठमाडौँ । बाँके जिल्लाको जानकी गाउँपालिकाले रसुवालगायतका जिल्लामा बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
गाउँपालिकाले बुधबार शोक वक्तव्य जारी गर्दै विपद्मा परी ज्यान गुमाएका सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको हो।
रसुवालगायत आसपासका क्षेत्रमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो क्षति भएको छ। बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लाका नदी किनारका बस्ती प्रभावित भएका छन् ।
घटनामा यात्रु, पर्यटक, कर्मचारी, सुरक्षाकर्मी, बैंक तथा जलविद्युत आयोजनामा कार्यरत कर्मचारी तथा श्रमिकसमेत प्रभावित भएका छन् ।
प्राकृतिक विपद्बाट प्रभावित नागरिकको शीघ्र खोज तथा उद्धार, घाइतेको सहज उपचार, राहत वितरण तथा सुरक्षित पुनर्स्थापनालाई तीव्र रूपमा अघि बढाउन गाउँपालिकाले सरकार, सुरक्षा निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, सञ्चारमाध्यम, नागरिक समाज तथा आम नागरिकसँग आग्रह गरेको छ।
विपद्को यस कठिन घडीमा धैर्यधारण गर्न सबैमा अपिल गर्दै प्रभावित परिवार तथा समुदायप्रति आर्थिक, भौतिक र नैतिक साथ–समर्थन र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले जानकारी दिए ।




