जानकी गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीको सुविधा काटेर भोटेकोशी बाढीपीडितलाई राहत दिने

 

काठमाडौँ । बाँके जिल्लाको जानकी गाउँपालिकाले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि जनप्रतिनिधि र कर्मचारीको सुविधा कटौती गरी आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

गाउँपालिकाका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले बाढीपहिरोमा परी ज्यान गुमाएका, बेपत्ता तथा घाइते भएका र अन्य बाढीपीडितको खोज तथा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशु राम उपाध्यायले जानकारी दिए 

गाउँपालिकाले स्थानीय विपद् व्यवस्थापन कोषबाट १ लाख १ हजार रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको छ।

यस्तै, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा गाउँकार्यपालिका सदस्यबाट प्राप्त हुने मासिक सुविधामध्ये ७ दिन बराबरको रकम विपद् राहतका लागि सहयोग गरिने भएको छ। वडा सदस्यहरूको मासिक सुविधाबाट भने ३ दिन बराबरको रकम कट्टा गरिनेछ।

त्यसैगरी गाउँपालिकाबाट तलबभत्ता खाने स्थायी, अस्थायी, करार तथा ज्यालादारी कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीलगायत राष्ट्रसेवक कर्मचारीबाट अधिकृतस्तरको ७ दिन, सहायकस्तरको ५ दिन र कार्यालय सहयोगीस्तरको ३ दिन बराबरको तलब रकम विपद् राहतका लागि उपलब्ध गराउने निर्णय गरिएको छ।

गाउँपालिकाले विपद्का कारण प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले जनप्रतिनिधि र कर्मचारीको तर्फबाट समेत योगदान गर्ने निर्णय गरेको जनाएको छ।

बाढीपीडितको पीडामा स्थानीय सरकारको साथ देखाउँदै जानकी गाउँपालिकाले गरेको यो निर्णयले राहत तथा पुनःस्थापनाका काममा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update