काठमाडौं । काठमाडौं महानगरपालिकाले रसुवाको भोटेकोशीसहित बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड ५४ लाख १४ हजार ७ सय ८७ रुपैयाँ जम्मा गर्ने भएको छ।
महानगरपालिकाको ५७औँ कार्यपालिका बैठकले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।
बैठकले खाद्यान्न, लत्ताकपडा, इन्डक्सन तथा भाँडावर्तन, पिउने पानी, त्रिपाल, कम्बल, ग्यास सिलिन्डरलगायत आवश्यक सामग्री व्यवस्थापन गर्ने जिम्मेवारी महानगर विपद् व्यवस्थापन समितिलाई दिएको छ।
त्यस्तै, एम्बुलेन्स, यातायातका साधन, शववाहन, एक्साभेटर, जेट मेसिन तथा आवश्यक जनशक्तिसमेत परिचालन गरिने महानगरले जनाएको छ। प्रभावित क्षेत्रका स्थानीय तहसँग समन्वय गरी आवश्यकताको पहिचान गर्ने जिम्मेवारी पनि विपद् व्यवस्थापन समितिलाई दिइएको छ।
जनप्रतिनिधि र कर्मचारीको सुविधाबाट समेत सहयोग
प्रधानमन्त्री उद्धार कोषमा जम्मा हुने रकममध्ये महानगर विपद् व्यवस्थापन कोषबाट ३ करोड रुपैयाँ उपलब्ध गराइनेछ। बाँकी रकम कार्यपालिका सदस्यको एक महिनाको सुविधा, वडा सदस्यको पाँच दिनको सुविधा तथा शहरी योजना आयोगका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सुविधा रकमबाट जुटाइनेछ।
महानगरपालिकामा कार्यरत अधिकृतस्तरका कर्मचारीबाट सात दिन, सहायकस्तरका कर्मचारीबाट पाँच दिन र श्रेणीविहीन कर्मचारीबाट दुई दिन बराबरको पारिश्रमिक सहयोगस्वरूप जम्मा गरिने निर्णय भएको छ।
बैठकमा महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले उद्धार भनेको जोखिममा परेकालाई सुरक्षित स्थानमा पुर्याउनु मात्र नभई उनीहरूको दैनिक जीवन सहज बनाउँदै पुनःस्थापनासम्म पुर्याउने काम भएको बताइन्।
उनले बाढी प्रभावित क्षेत्रका नागरिकसँगै काठमाडौंमा अध्ययनरत विद्यार्थी तथा अस्पतालमा कुरुवा वा सहयोगीविहीन बिरामीको हेरचाहमा समेत महानगरले सहयोग गर्नुपर्ने बताइन्।
बाढी आएको दिनदेखि नै महानगरको उद्धार अभियान
भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीसहित रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखालगायत क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएपछि महानगरले तत्काल उद्धार तथा राहत अभियान सुरु गरेको थियो।
पहिलो दिन नै ५ वटा एम्बुलेन्स नुवाकोट पठाइएको थियो भने थप २ वटा एम्बुलेन्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा तयारी अवस्थामा राखिएको महानगरले जनाएको छ।
महानगर स्काउटका १९ जना स्वयंसेवक मानवीय सहयोगका लागि प्रभावित क्षेत्रमा परिचालन भएका छन्। घाइतेको उपचारमा सहजीकरण तथा अस्पतालमा अन्य आवश्यक मानवीय सहयोगका लागि १० जना महानगर प्रहरी समेत खटाइएको छ।
प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाडौंको नागार्जुन नगरपालिकास्थित पहेँलो गुम्बामा राखिएका करिब २ सय परिवारलाई १० थान भरिएका ग्यास सिलिन्डर, १६० थान म्याट, १०० थान कम्बल तथा खानेपानीलगायत सामग्री उपलब्ध गराइएको छ।
त्यस्तै, आपतमा परेका यात्रुको स्थल उद्धारका लागि काठमाडौं महानगरपालिकादेखि विदुर नगरपालिकासम्म दुई वटा निःशुल्क यात्रुवाहक सवारीसाधन सञ्चालन गरिएको छ।
विपद् व्यवस्थापनमा सहयोग गर्न अपिल
कार्यपालिका बैठकले महानगरवासी, व्यापारी, व्यवसायी, उद्योगी तथा पेशाकर्मीलाई आफ्नो सामर्थ्यअनुसार बाढी तथा विपद् व्यवस्थापनमा सहयोग गर्न आह्वान गर्ने निर्णयसमेत गरेको छ। सहयोग व्यवस्थापन तथा सहजीकरणका लागि राष्ट्रिय सभागृहमा तत्काल सहायता कक्ष सञ्चालनमा ल्याइनेछ।
त्यस्तै, बाढी प्रभावित महानगरवासीको लगत संकलन, तत्काल उद्धार तथा सहयोग उपलब्ध गराउन राष्ट्रिय सभागृहमा सूचना केन्द्र सञ्चालन गरिनेछ। सबै वडा कार्यालयबाट प्रभावित नागरिकसम्बन्धी सूचना तथा विवरण संकलन गर्न सूचना तथा प्रविधि विभागलाई निर्देशन दिइएको छ।




