नागढुंगा नजिकै सडक भासियो: सवारी सुरुङमार्गबाट डाइभर्ट, ट्यांकर र मोटरसाइकल मात्र पुरानो बाटोमा

काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा नजिकै पातले वन क्षेत्रमा सडकको केही भाग भासिएपछि सवारी आवागमन प्रभावित भएको छ।

आज बिहान सडक भासिएसँगै सुरक्षालाई ध्यानमा राखी सवारी व्यवस्थापनमा फेरबदल गरिएको छ। हाल उक्त स्थानबाट पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र दुईपांग्रे सवारीसाधनलाई मात्र एकतर्फी रूपमा आवतजावत गर्न दिइएको छ।

अन्य सम्पूर्ण सवारीसाधनलाई भने नागढुंगा सुरुङमार्गमार्फत गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाइएको सडक विभागले जनाएको छ।

सडक भासिएको क्षेत्रको स्थलगत निरीक्षण तथा प्राविधिक अध्ययनका लागि विभागको प्राविधिक टोली घटनास्थलमा परिचालन भइसकेको छ। आवश्यक अध्ययन र मर्मतसम्भारको काम तत्काल अघि बढाएर सडकलाई चाँडै पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको विभागले उल्लेख गरेको छ।

मर्मत कार्य नसकिँदासम्म उक्त खण्डमा यात्रा गर्ने चालकहरूलाई सुरुङमार्ग तथा वैकल्पिक मार्ग प्रयोग गर्न र ट्राफिक नियम पालना गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update