भोटेकोशी बाढीपीडितका लागि गोकुलगंगा गाउँपालिकाको २२ लाखभन्दा बढी सहयोग

 

काठमाडौँ । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २२ लाख ६ हजार रुपैयाँ सहयोग गर्ने भएको छ।

गाउँपालिकाको २०८३ भदौ १४ गते बसेको कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २२ लाख ६ हजार ५७० रुपैयाँ जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईले जानकारी दिए ।

गाउँपालिकाका अनुसार विपद् व्यवस्थापन कोषबाट १ लाख रुपैयाँ, गाउँपालिकाका जनप्रतिनिधिहरूको एक महिनाको पारिश्रमिकबाट ३९ हजार ३५० रुपैयाँ तथा गाउँपालिकाभित्र कार्यरत कर्मचारी र शिक्षकहरूको तलबबाट समेत रकम संकलन गरी उक्त सहयोग गर्न लागिएको हो।

निर्णयअनुसार अधिकृतस्तरका कर्मचारी तथा माध्यमिक तहका शिक्षकबाट ७ दिनको तलब बराबर ५ लाख ६० हजार १५० रुपैयाँ, सहायकस्तरका कर्मचारी तथा प्राथमिकरनिम्न माध्यमिक तहका शिक्षकबाट ५ दिनको तलब बराबर १३ लाख ७५ हजार २९० रुपैयाँ र श्रेणीविहीन कर्मचारी, विद्यालयका कार्यालय सहयोगी तथा लेखा कर्मचारीबाट २ दिनको तलब बराबर १ लाख ३१ हजार ७८० रुपैयाँ संकलन हुनेछ।

त्यसैगरी, बाढीका कारण गाउँपालिकाभित्रका नागरिक बेपत्ता भएको अवस्थामा खोजतलास कार्यलाई सहज बनाउन पीडित परिवारलाई २५ हजार रुपैयाँसम्म तत्काल खर्च उपलब्ध गराउने निर्णयसमेत गरिएको छ।

गाउँपालिकाले भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकहरूको खोजी कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई अनुरोध गरेको छ। प्राकृतिक विपद्को यस कठिन अवस्थामा सरकार, सुरक्षा निकाय, सञ्चार जगत् र नागरिक समाजलाई एकीकृत रूपमा उद्धार तथा पुनःस्थापनामा जुट्न आग्रह गर्दै गाउँपालिकाले आफ्नो तर्फबाट हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

 

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update