बाढीले पुल बगाएपछि देवीघाटमा त्रिशुलीमाथि बनाइयो तुइन

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा बाढीका कारण पुल बगेपछि आवतजावत सहज बनाउन तुइन सञ्चालनमा ल्याइएको छ ।

भदौ १० गते आएको विनाशकारी बाढीले देवीघाट बजारसहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको छ ।ओहोरदोहोर गर्ने पक्की र झोलुंगे पुल बगाएपछि विदुर नगरपालिका–३ र ५ का नागरिकलाई त्रिशुली नदी वारपार गर्न कठिनाइ भइरहेको थियो ।

स्थानीयको समस्यालाई मध्यनजर गर्दै शुक्रबार साँझ करिब ५ बजेदेखि तुइन सञ्चालनमा आएको विदुर–५ का वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिए । उनकाअनुसार तुइनले विदुर नगरपालिका–३ का नागरिकलाई प्रत्यक्ष रूपमा वारिपारि गर्न सहज हुनेछ भने वडा नम्बर ५, ९ र १२ लगायत क्षेत्रका नागरिकलाई समेत आवतजावतमा सहयोग पुग्नेछ । यो तुइनबाट आवतजावतसँगै औषधि र अत्यावश्यक सामग्री ढुवानी पनि भइरहेको छ ।

संघ र प्रदेश सरकारसँग समन्वय गरेर स्थानीय सरकार र स्थानीयको पहलमा तुइन हालिएको हो । देवीघाट बजार आउजाउ गर्ने गरी हालिएको यो पुल करिब १ सय ८० मिटर लम्बाइको छ ।

बाढीबाट क्षतिग्रस्त क्षेत्रमा नागरिकको दैनिक आवतजावत सहज बनाउन पुललगायतका आवश्यक पूर्वाधार निर्माण तथा वैकल्पिक व्यवस्था तीव्र रूपमा अघि बढिरहेको उनले  बताए । देवीघाटको मुख्य बजारलाई जोड्ने गल्छी–त्रिशुली–मैलुङ सडकखण्डअन्तर्गतको पुल समेत बाढीले ध्वस्त बनाएपछि उक्त स्थानमा बेलिब्रिज निर्माणको कामसमेत सुरु भइसकेको न्यौपानेले जानकारी दिए । केही दिनभित्रै स्थायी बेलिब्रिज सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए।

यसअघि विदुर नगरपालिका–१ इन्द्रायणी चौर र विदुर–९ को कोलनी, गुम्बा डाँडा क्षेत्रलाई जोड्ने गरेर गत भदौ १५ मा तुइन हालिएको थियो । उक्त तुइन २ सय ५५ मिटर लम्बाइको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update