काठमाडौं । म्याक्सस नेपालले हालैको प्राकृतिक विपद्बाट प्रभावित समुदायको उद्धार तथा पुनस्र्थापनाका लागि करिब ८० लाख रुपैयाँ बराबरको राहत तथा आर्थिक सहयोग प्रदान गरेको छ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत साइक म्याक्सस चाइनाको सहयोग तथा हिमालय अर्गनाइजेसनको समन्वयमा उक्त सहयोग उपलब्ध गराएको हो।
सहयोग अन्तर्गत म्याक्सस नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ नगद जम्मा गरिसकेको छ। उक्त रकम बराबरको चेक केही दिनअघि माननीय अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।
बाँकी ३० लाख रुपैयाँ बराबरको रकमबाट नुवाकोटका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा प्रत्यक्ष राहत सामग्री तथा स्वच्छ खानेपानी प्रणाली जडान गरिएको छ। त्रिशूली नदी पारिपट्टि अस्थायी शिविरमा आश्रय लिइरहेका करिब ४०० जनालाई लक्षित गरी खाद्यान्न, लत्ताकपडा, ओछ्यान (डसना, सिरानी, तन्ना), भाँडाकुँडा, औषधि तथा आधारभूत स्वास्थ्य सामग्री वितरण गरिएको छ।
विपद् प्रभावित क्षेत्रमा खानेपानीको दिगो समाधानका लागि कम्पनीले दुईवटा होल्डिङ सेन्टरमा सौर्य ऊर्जाबाट चल्ने ‘अल्ट्रा फिल्टर वाटर ट्रिटमेन्ट प्लान्ट’ समेत जडान गरेको छ। नुवाकोटको त्रिशूलीस्थित श्री भैरम माध्यमिक विद्यालय र विदुर नगरपालिकाको त्रिशूली प्राथमिक विद्यालयमा प्रतिघण्टा १,००० लिटर पानी शुद्धीकरण गर्ने क्षमता भएका प्लान्ट स्थापना गरिएका हुन्। यी दुई विद्यालयमा हाल करिब ५०० विस्थापित परिवारले अस्थायी आश्रय लिइरहेका छन्। उक्त प्रणालीबाट विस्थापित परिवारका साथै विद्यालय पुन: सञ्चालन भएपछि विद्यार्थीहरू समेत दीर्घकालीन रूपमा लाभान्वित हुनेछन्।
राहत वितरण तथा वाटर प्लान्ट जडान कार्यक्रममा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा, प्रबन्ध निर्देशक मिलन थापा तथा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपालका चिफ गभर्नर रामराजा थापालगायतका पदाधिकारीहरूको प्रत्यक्ष उपस्थिति रहेको थियो।




