नेपालका बाढीपीडितलाई दिदीबहिनी वुमेन्स नेटवर्क अष्ट्रेलियाको २० हजार डलर सहयोग

काठमाडाैं । नेपालमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत र पुनःस्थापनाका लागि दिदीबहिनी वुमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) ले २० हजार अष्ट्रेलियन डलर (करिब १८ लाख नेपाली रुपैयाँ) सहयोग प्रदान गरेको छ। संस्थाले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो।

विपद्का कारण घरबारविहीन तथा पीडित बनेका परिवारलाई तत्काल राहत सामग्री वितरण गर्न र दीर्घकालीन पुनःस्थापना अभियानलाई सघाउन यो आर्थिक सहयोग उपलब्ध गराइएको DWNA ले जनाएको छ।

यसैबीच, प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न DWNA ले सिड्नीमा ‘क्यान्डललाइट भिजिल’ (मैनबत्ती प्रज्वलन) कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा दिवंगतहरूको आत्माको शान्तिका लागि एक मिनेट मौनधारण गरिएको थियो। भिजिलमार्फत पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै संकटको यस घडीमा अष्ट्रेलियास्थित नेपाली समुदाय पीडितहरूको साथमा रहेको ऐक्यबद्धता व्यक्त गरिएको थियो।

यो सहयोग रकम संस्थाका सदस्यहरू, तिनका परिवार, सल्लाहकार, युनिट कमिटी, एनएसडब्लू (NSW) राज्य समिति, प्रायोजकहरू तथा ‘गोफन्डमी’ (GoFundMe) मार्फत योगदान गर्ने दाताहरूको सामूहिक प्रयासबाट संकलन गरिएको संस्थाले उल्लेख गरेको छ।

नेपालमा विपद् सुरु भएलगत्तै अष्ट्रेलियामा रहेका विभिन्न नेपाली संघसंस्था तथा समुदायहरूले राहत संकलनलाई तीव्रता दिइरहेका बेला DWNA को यो कदमले मानवीय अभियानमा थप ऊर्जा थपेको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update