काठमाडौं । ऐतिहासिक 'जेन–जी आन्दोलन'को एक वर्ष पूरा भएको अवसरमा मंगलबार काठमाडौंको नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
आन्दोलनका सहिदहरूको सम्झना र घाइतेहरूको सम्मानमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, आन्दोलनका घाइते, सहिद परिवार तथा ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो।
सहभागीहरूले सहिदहरूको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्दै मैनबत्ती बालेका थिए। कार्यक्रममा एक मिनेट मौनधारण गरी आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरियो। सरकारले भदौ २३ लाई 'जेन–जी सहिद दिवस' घोषणा गरी सार्वजनिक बिदा दिएसँगै आज देशभर विभिन्न स्मृति कार्यक्रमहरू आयोजना गरिएका छन्।
गत वर्ष भदौ २३ गते युवा पुस्ता (जेन–जी) ले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार, बेथिति र सुशासनको अभावविरुद्ध माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप हुँदा ठूलो मानवीय क्षति भएको थियो। भदौ २४ गते देशव्यापी रूपमा फैलिएको उग्र प्रदर्शन र तोडफोडका घटनापछि देशको राजनीतिक परिस्थितिमा महत्त्वपूर्ण मोड आएको थियो।
कार्यक्रममा सहभागी सहिद परिवार तथा घाइतेहरूले आन्दोलनको एक वर्ष बितिसक्दा पनि उठाइएका मुद्दाहरू पूर्ण रूपमा कार्यान्वयन नभएको गुनासो गरे। उनीहरूले आन्दोलनको निष्पक्ष छानबिन हुनुपर्ने, घाइतेहरूको उचित उपचार तथा क्षतिपूर्ति व्यवस्था गरिनुपर्ने र सुशासन, पारदर्शिता, संस्थागत सुधार तथा डिजिटल अधिकारका मागलाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन्।




