काठमाडौँ । महोत्तरी जिल्लाको मनराशिसवा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीलाई भत्ता निरन्तरताका लागि परिचयपत्र नवीकरण गर्न दाेस्रो पटक आग्रह गरेको छ।
आर्थिक वर्ष २०८३/०८४ मा सामाजिक सुरक्षा भत्ता निरन्तर प्राप्त गर्न सम्बन्धित लाभग्राहीले आफ्नो सम्बन्धित वडा कार्यालयमा स्वयं उपस्थित भई परिचयपत्र नवीकरण गराउनुपर्ने व्यवस्था भए बमोजिम दोस्रो पटक सुचना प्रकाशन गरी आग्रह गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमकुमार पोखरेलले जानकारी दिए । चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता लिनको लागि असोज मसान्तभित्रमा परिचयपत्र नवीकरण गरिसक्नु पर्ने व्यवस्था संघ सरकारले गरेको छ ।
नगरपालिकाले परिचयपत्र नवीकरणका लागि तोकिएको समयभित्र वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। निर्धारित समयभित्र नवीकरण नगराएमा सामाजिक सुरक्षा भत्ता प्राप्तिमा समस्या आउन सक्ने भएकाले समयमै प्रक्रिया पूरा गर्न लाभग्राहीलाई अनुरोध गरिएको छ।
नगरपालिकाका अनुसार परिचयपत्र नवीकरणसम्बन्धी थप जानकारी सम्बन्धित वडा कार्यालयबाट लिन सकिनेछ। साथै नवीकरणसम्बन्धी सूचना गाउँपालिकाको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत समेत सार्वजनिक गरिएको जनाएको छ।




