नुवाकोटमा एक्रोब्रिज तयार, भोलिबाट सञ्चालनमा आउने

काठमाडौं । बाढीका कारण क्षतिग्रस्त पुलका कारण आवागमनमा सास्ती खेपिरहेका स्थानीयवासीलाई राहत मिल्नेगरी नुवाकोटको देवीघाटमा एक्रोब्रिज जडान सम्पन्न भएको छ । 

गृहमन्त्री सुदन गुरुङको सचिवालयका अनुसार नेपाली सेनाले पाँच दिनअघि सुरु गरेको एक्रो ब्रिज जडानको काम सम्पन्न गरेको र शुक्रबारदेखि सञ्चालनमा आउनेछ । 

छोटो समयमै पुल निर्माण सम्पन्न भएको भन्दै गृहमन्त्री गुरुङले नेपाली सेनालाई धन्यवाद दिएका छन् । उनले बाढीका कारण पीडामा रहेका नुवाकोटबासीको समस्यालाई ध्यानमा राख्दै नेपाली सेनाले रातदिन नभनी निरन्तर खटिएर छोटो समयमै पुल निर्माण सम्पन्न गरेको भन्दै प्रशंसा गरेका हुन् । 

बाढीका कारण पुल तथा सडक सम्पर्क प्रभावित हुँदा स्थानीयवासीले दैनिक आवतजावतदेखि अत्यावश्यक सेवा तथा सामग्री ओसारपसारसम्ममा ठूलो सास्ती खेप्दै आएका छन् ।

रसुवामा आएको विनाशकारी बाढीका कारण विभिन्न स्थानका पुलहरू बगाउँदा नुवाकोट, रसुवा लगायतका क्षेत्रमा यातायात सम्पर्क प्रभावित भएको थियो । 

यसैबीच, प्रभावित क्षेत्रको आवागमन थप सहज बनाउन बेत्रावतीमा समेत नेपाली सेनाले ब्रिज निर्माण गर्ने योजना बनाइएको छ । बाढीबाट क्षतिग्रस्त पूर्वाधारलाई प्राथमिकताका साथ पुनःस्थापना गर्ने कामलाई निरन्तरता दिइने मन्त्रालयले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update