मोरङ र सुनसरीमा न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न सहकारीलाई आह्वान

 

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद तथा व्यवस्थापन गर्न मोरङ र सुनसरीका सहकारी संस्थालाई सूचीकृत हुन आह्वान गरेको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, मोरङले सार्वजनिक सूचना प्रकाशन गरी न्यूनतम समर्थन मूल्यमा धान खरिद तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न इच्छुक सहकारी संस्थालाई सूचीकृत हुन आग्रह गरेको हो।

सरकारले चालु आर्थिक वर्षका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ३ हजार ६६० रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ तोकेको छ। सोही मूल्यअनुसार मोरङ र सुनसरी जिल्लामा उत्पादन हुने धान खरिद तथा व्यवस्थापन गरिनेछ।

कार्यक्रममा सहभागी हुन इच्छुक सहकारी संस्थाले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र  अर्थात् २०८३ असोज ५ गतेसम्म कार्यालय समयभित्र कार्यक्रम कार्यान्वयन एकाइ, मोरङमा आवश्यक कागजातसहित सूचीकृत हुनुपर्नेछ। सूचना २०८३ साउन १६ गते प्रकाशित गरिएको हो।

आवश्यक कागजात

सहकारी संस्थाले निवेदनसँगै संस्था दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, आर्थिक वर्ष २०८२/८३ को कर चुक्ता प्रमाणपत्र, शेयर पुँजी तथा कार्यक्षेत्रको विवरण, खरिद गर्न चाहेको धानको परिमाण र किसिम, खरिद क्षेत्र, आवश्यक रकम तथा त्यसको स्रोत र धान भण्डारण तथा व्यवस्थापनसम्बन्धी विवरण पेश गर्नुपर्नेछ।

त्यस्तै धान खरिद, ढुवानी, भण्डारण, प्रशोधन तथा बजार व्यवस्थापनका लागि आवश्यक साधन, उपकरण र जनशक्तिको विवरणसमेत पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।

कार्यक्रमअन्तर्गत खरिद गरिएको धानको भण्डारण, सुरक्षा तथा प्याकेजिङ खर्च व्यवस्थापनका लागि प्रतिक्विन्टल ११२ रुपैयाँका दरले अनुदान उपलब्ध गराइने व्यवस्था रहेको छ।

कृषकले उत्पादन गरेको धानको उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यले सरकारले न्यूनतम समर्थन मूल्यमा धान खरिदको व्यवस्था गरेको हो। मोरङ र सुनसरीका इच्छुक सहकारीले तोकिएको समयभित्र आवेदन दिनुपर्नेछ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update