काठमाडौँ । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाले वर्षायाममा सर्पदंशका बिरामीहरूलाई तत्काल उपचार सेवा पुर्याउन विशेष व्यवस्था मिलाएको छ।
गाउँपालिका र सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेको संयुक्त पहलमा सर्पदंशका बिरामी परेका स्थानमै स्वास्थ्य टोली पुगेर उपचार तथा व्यवस्थापन गर्ने सेवा सुरु गरिएको गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले जानकारी दिए ।
वर्षाको समयमा खेतखरियान वा घर आँगनमै विषालु सर्पले टोक्दा बिरामीलाई अस्पताल वा उपचार केन्द्रसम्म पुर्याउन धेरै समय लाग्ने र बाटोमै अवस्था गम्भीर भई ज्यानसमेत जाने जोखिमलाई ध्यानमा राख्दै यो निर्णय लिइएको अध्यक्ष चौधरीले बताए ।
गाउँपालिकाले सार्वजनिक सुचना नै प्रकाशन गरी सो विषयको जानकारी पनि गराएको छ । सूचना अनुसार अब सर्पले टोकेको प्रष्ट जानकारी प्राप्त हुनासाथ गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रबाट दक्ष जनशक्तिसहितको टोली उपकरण/औषधिसहित सोझै घटनास्थलमा पुगेर बिरामीको प्राथमिक उपचार र आवश्यक व्यवस्थापन गर्नेछ।
यस सेवाका लागि गाउँपालिकाले आफ्ना नागरिकहरूलाई आवश्यकता परेमा तत्काल सम्पर्क गर्न व्यक्ति तथा नम्बरहरू उपलब्ध गराएको छ । सो सेवा लिनको लागि नबिन भण्डारी (सर्पदंश उपचार केन्द्र, गोरुसिङ्गे) लाई ९८५७०५०९७३, कमलेश शरण चौधरी (गाउँपालिका अध्यक्ष) लाई ९८१७५४७००१ वा असफाक अहमद खाँ (स्वास्थ्य अधिकृत) लाई ९८११४६४४५४ नम्बरमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ ।
गाउँपालिकाको यो कदमले वर्षायाममा हुने सर्पदंशका घटनाबाट हुने सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न ठूलो राहत पुग्ने विश्वास लिइएको छ।




