आज कुशेऔंसी अर्थात् बाबुको मुख हेर्ने दिन, युवाकवि मोतिराम भट्टको १६१औं जन्म जयन्ती

काठमाडौं । आज भाद्र कृष्ण औसी अर्थात् कुशेऔंसी पर्व घरघरमा देवकार्य तथा पितृकार्यमा प्रयोग हुने पवित्र कुश भित्र्याइँदैछ । 

आज घरघरमा भित्र्याइएको कुश वैदिक सनातन धर्मावलम्बीहरुले वर्षभरी नै देव तथा पितृकार्यमा प्रयोग गर्ने गर्छन् भने ब्राह्मणले जजमानको घरमा पुर्‍याएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । 

आजको दिनलाई बाबुको मुख हेर्ने दिनका रुपमा समेत स्मरण गरिन्छ । आज छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन गराएर आदर सम्मानसहित बाबुको मुख हेर्ने प्रचलन छ । 

बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । 

गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने गर्छन् । 

यसैगरी आजको दिनमा रसुवा र नुवाकोट बीचमा रहेको वेत्रावतीमा पनि लाग्ने मेला लाग्थ्यो । जहाँ पिता दिवंगत भएकाहरू तर्पण, सिदादान र पिण्डदान गर्न पुग्ने गर्दथे । तर यसवर्ष भोटेकोशी नदी बाढीका कारण पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । 

आजको दिनमा छोराछोरीले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ र बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने विश्वास छ । 

आजै राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१औं जन्मजयन्ती पनि विशेष कार्यक्रमहरुको आयोजना गरी मनाइँदैछ । 
वि.स. १९२३ साल भाद्र कृष्ण कुशे औंसीका दिन जन्मिएका भट्टको विसं १९५३ भाद्र कृष्ण औंसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । 

युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए भने नेपालमा छापाखानासमेत भित्र्याएपछि पत्रकारिताको सुरुवात भएको मानिन्छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update