आज हिन्दू नेपाली महिलाहरुको पर्व हरितालिका तीज, पाशुपत क्षेत्रमा बिहानैदेखि भीड

काठमाडौं । आज हिन्दू नेपाली महिलाहरुको ठूलो पर्व हरितालिका तीज पर्व महिलाहरु निराहार व्रत बसेका छन् । 

भाद्र शुक्ल द्वितीयाका दिन दर खाएर तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्वका अवसरमा आज भगवान श्रीमहादेवको पूजा आराधना गरिन्छ । 

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

हरितालिका तीजका अवसरमा बिहानैदेखि पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको भीड लागेको छ । हरितालिका व्रत बसेका महिलाको सहजताका लागि आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खुला गरिएको छ । 

मन्दिर प्रवेश गर्ने भक्तजनका लागि दर्शन गर्न चार वटा लाइनको व्यवस्था गरिएको छ । बिहानदेखि लाइनमा बसेकाहरुले आधा घण्टामा दर्शन गरेर फर्कन सक्नेगरी व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

तीज पर्वका अवसरमा आज पशुपति क्षेत्रमा चार हजार सुरक्षाकर्मीका साथै २४ वटा धार्मिक एवं सामाजिक संस्थाका ८५५ जना स्वयंसेवक खटाइएको छ । 

पशुपतिनाथसहित आज देशैभर शिव मन्दिरहरुका दर्शनार्थीहरुको भीड छ । 

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update