काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेपछि सिंहदरबारमा बस्ने छ ।
बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
यसैगरी राष्ट्रियसभाको बैठक पनि दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।
राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन ’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको सचिवालयले उल्लेख गरेको छ ।
यसैगरी विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।




