आज असोज १ गते, विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै

काठमाडौं । आज असोज १ कालिगढले आजको दिनलाई विश्वकर्माको पूजाआराधना तथा वास्तु दिवसका रुपमा मनाउँदैछन् । 

हरेक वर्ष असोज १ गतेका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गर्ने गरिन्छ । आजका दिनमा विभिन्न कलकारखानामा विश्वकर्मा बाबाको तस्बिरमा विधिपूर्वक पूजाआराधना गरिन्छ । 

यो दिनमा कलकारखानालाई विशेष रुपमा सजाउनुका साथै बालुवा तथा विभिन्न वस्तुले बनाएको विश्वकर्माको मूर्ति बागमती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ । 

आजका दिन कालिगढले प्रयोग गर्ने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने र राम्रो काम गर्न सकिने धार्मिक विश्वास छ ।
  
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको मान्यता छ । 

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक मानिन्छ । 

विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाता मानिन्छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update