न्युयोर्क । संयुक्त राष्ट्रसंघ महासभामा भाग लिन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच भेटवार्ता भएको छ ।
खनालसँगको द्विपक्षीय भेटवार्तामा दुई देशबीचको सम्बन्धका साथै हालै भोटेकोशी नदीमा गएको बाढीपछिको राहत तथा पुनर्निर्माण लगायतका विषयमा छलफल भएको थियो ।
भेटमा अवसरमा अमेरिकाले नेपालको बाढीपछिको पुनःस्थापना तथा पुनर्निर्माणमा थप ३१ मिलियन अमेरिकी डलर सहयोग घोषणा गरेको छ ।
भेटमा नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक तथा अझै सम्पर्कविहीन रहेका करिब ७० जना अमेरिकी नागरिकका परिवारप्रति समवेदना व्यक्त गरेकी छिन् ।
अमेरिकाले प्रभावित क्षेत्रमा यातायात पूर्वाधार पुनःस्थापना तथा क्षेत्रीय सम्पर्क सुदृढ गर्न १० मिलियन डलर बराबरको स्थायी तथा आवश्यकताअनुसार निर्माण गर्न मिल्ने पुल उपलब्ध गराउने जनाएको छ । ती पुल अमेरिकी कम्पनीबाट खरिद गरिने छ ।
यसैगरी प्रभावित समुदायका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता, आश्रय, संरक्षण, जीविकोपार्जन र हिउँदका लागि आवश्यक सहयोगलगायतका क्षेत्रमा थप ८ मिलियन डलर उपलब्ध गराउने छ ।
यो बाहेक अमेरिकाले बाढीपछिको विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन अमेरिकामा निर्मित ड्रोन उपलब्ध गराउन १३ मिलियन डलर खर्च गर्नेछ ।
भेटका अवसरमा मन्त्री खनाललाई अमेरिकी उपविदेशमन्त्री हुकरले पुनर्निर्माणका प्रयासहरूमा अमेरिकाको निरन्तर सहयोग रहने बचन दिएका थिए ।
भेटघाटमा परराष्ट्रसचिव अमृतबहादुर राई र स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायतका उच्च अधिकारीहरू समेत सहभागी थिए ।




