आज संसद्का दुवै सदनको बैठक, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक आज पनि बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संघीय संसद सचिवालयले जनाएको छ । 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 

यसैगरी, बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जानकारी दिएको छ । 

संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक पनि आज बस्दैछ । दिउँसो १ः१५ बजे बस्ने बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची छ । 

योसँगै बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । 

यस्तै प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नेछन् । 

बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update