नेपाललाई सहयोग जारी राख्ने राष्ट्रसंघका महासचिवको प्रतिबद्धता

न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो कार्यकाल सकिएपछि पनि नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन् । 

संयुक्त राष्ट्रसंघको मुख्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटमा उनले सो प्रतिबद्धता जनाएका हुन् । 

प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघको मुख्यालयमा नेपाली समयअनुसार शुक्रबार बिहान ४ः१५ बजे महासचिव गुटेरेससँग भेट भएको हो । 

भेटमा प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि बधाई दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले अझै पनि हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताएका छन् । 

महासचिव गुटेरेसले भोटेकोशी बाढीमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग साथमै रहेको विश्वास दिलाए । 

आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल गएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे । 

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update