नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा, अब श्रीलंकासँग भिड्ने

काठमाडौं । नेपाल २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको जापानसँगको खेल नतिजाबिहीन बनेपछि नेपाल समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । 

वर्षाका कारण ढिला सुरु भएको खेल १५ ओभरमा झारिएको थियो । जसमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४ विकेट गुमाएर १४९ रन बनाएको थियो । नेपालका लागि सन्दिप जोराले जोरा ३२ बलमा ५७ र लोकेश बमले २२ बलमा ५२ रनको पारी खेले भने आसिफ शेखले २१ रन बनाए ।

जापानका लागि रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले १–१ विकेट लिए ।

नेपालको इनिङ सकिन लाग्दा सुरु भएको वर्षा नरोकिएपछि जापानको इनिङ सुरु हुन सकेन । जसका कारण खेल नतिजाबिहीन बनेको हो । 

बराबरीपछि नेपाली समूह ‘ए’ मा २ खेलबाट ३ अंक जोड्दै समूह विजेताका रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । अफगानिस्तान २ खेलमा २ अंकका साथ उपविजेता बन्यो ।

शुक्रबार भएको खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले हराएको थियो । क्वाटरफाइनलमा अब नेपालले श्रीलंकासँग खेल्नेछ भने अफगानिस्तान र भारतबीच खेल हुनेछ । 

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update