काठमाडौं । पूर्वबाट सर्दै आएको मौसमी प्रणालीका कारण लगातार वर्षा हुने क्रम जारी छ । पछिल्लो २४ घन्टामा सबैभन्दा बढी वर्षा चितवनमा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार चितवनको माडी कल्यानपुरको केन्द्रमा २२२.४ मिलिमिटर वर्षा मापन भएको छ ।
यसैगरी नवलपरासीको बर्दघाट मापन केन्द्रमा २०७ मिलिमिटर, चितवनको मेघौली मापन केन्द्रमा २०२.८ मिलिमिटर र तनहुँमा २०२.२ मिलिमिटर वर्षा भएको छ ।
भारी वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ टप मजुवामा दुई वटा घर बगाएको छ ।
बाढीले स्थानीय दुर्गा बानियाँ र उनका छिमेकीको एक घर बगाएको छ भने नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीको घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । बाढीपछि प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
२४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा बढी वर्षा मापन हुनु अति भारी वर्षा मानिन्छ भने १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा र ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा भनिन्छ ।
आजदेखि क्रमशः मौसममा सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।




