काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको बाँकी हिमाली भू–भागमा साधारणतया बादल, पहाडी भू–भागमा आंशिक बादल र तराई भु–भागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ ।
आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ भने देशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
सुदुरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थान तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
यसैगरी राति पनि देशका हिमाली र पहाडी भू–भागमा तथा सुदुरपश्चिम र लुम्बिनी प्रदेशको तराई भु–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ । देशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न विभागको अनुरोध छ ।




