संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक बस्दैछ ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ । सो बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

बैठकमा महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले उल्लेख गरेको छ । 

यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् । 

बैठकमा मन्त्री मेहताले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ ।

राष्ट्रिय सभाको बैठक पनि दिउँसो सवा १ बजे बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । 

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update