काठमाडौं । केही दिनदेखिको अविरल वर्षाका कारण देशभर ठूलो क्षति पुगेको छ । धेरै स्थानमा बाढी र पहिरोले बस्तीमा क्षति गरेको छ भने तराईका केही क्षेत्रमा डुबान भएको छ ।
अविरल वर्षापछि आएको पहिरोका कारण बागलुङमा १० जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।
पहिरोमा परी बागलुङमा आइतबार ९ जना र शनिबार १ जना गरी १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
पहिरोका कारण तमानखोला गाउँपालिकामा ४ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।
तमानखोला गाउँपालिका–३ धर्नासुकमा पहिरोले घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको हो ।
यसैगरी सोही गाउँपालिकाको वडा नम्बर ४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको ज्यान गएको छ भने हस्तवीरकी श्रीमती पहिरोमा परी बेपत्ता भएकी छन् ।
उता निसीखोला गाउँपालिकामा पनि पहिरोमा परी ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । निसीखोला गाउँपालिका–३ जुग्जाखोलामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका छोरा १३ वर्षीय मनोज, आठ वर्षीय मुकेश र तीन वर्षीय निशान विक रहेका छन् ।
निसीखोलाकै वडा नम्बर ६ मा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको ज्यान गएको प्रहरीले जनाएको छ ।
यसअघि शनिबार ताराखोला गाउँपालिका–५ धस्मरमा पहिरोमा घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो ।
बाढीपहिरोको कारण तनहुँमा २४ घरमा क्षति पुगेको विवरण आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । क्षति पुगेका घरका परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।
तनहुँकै देवघाट गाउँपालिका–५ स्थित सीता गुफा परिसरमा कालीगण्डकी नदीमा आएको बाढीले ठूलो ढुंगामा कुँदिएका १०८ शिवलिंगसहितको ओमकार मूर्ति, स्टोरका सामान, शौचालयसहितका संरचना बगाएको छ ।




