काठमाडौं । वर्षाका कारण श्रीलंकासँगको खेल रद्द भएपछि नेपाल जापानमा जारी बीसौं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको प्रतिस्पर्धाबाट बाहिरिएको छ ।
मंगलबार बिहान नेपालले क्वार्टरफाइनलमा नागोयास्थित कोरोगी स्पार्टस पार्कको मैदानमा श्रीलंकासँग खेल्ने तालिका थियो । तर लगातारको वर्षासँगै खेल रद्द हुन पुगेको हो ।
योसँगै सेमिफाइनल पुग्ने नेपालको सपना अधुरै रह्यो । प्रतियोगिताको नियमअनुसार खेल हुन नसकेमा टी–२० अन्तरराष्ट्रिय वरीयताको माथिल्लो स्थानको टोलीलाई विजेता मानेर अघिल्लो चरणमा प्रवेश गराउने प्रावधान छ ।
सोही प्रावधानअनुसार श्रीलंका सेमिफाइनलमा प्रवेश गर्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । हालको टी–२० विश्व वरीयतामा श्रीलंका नवौं तथा नेपाल १४औं स्थानमा छन् ।
श्रीलंकाले अब भारतसँग फाइनल प्रवेशका लागि खेल्नेछ । यसअघि सोमबार पनि वर्षाका कारण खेल हुन नसकेपछि भारत र पाकिस्तान पनि सोझै सेमिफाइनलमा पुगेका थिए ।




