बागलुङ । केही दिनदेखि लगातार परेको वर्षाका कारण बागलुङमा थप दुई जनाको मृत्यु पुष्टि भएको छ । योसँगै बागलुङमा बाढी पहिरोमा परी तीन दिनमा मृत्यु हुनेको संख्या १२ पुगेको छ भने अझै एक जना बेपत्ता रहेका छन् ।
पहिरोमा परी ताराखोला गाउँपालिका–५ मा घर पुरिँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोका रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
सोही पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन् ।
बागलुङमा लगातारको वर्षासँगै शनिबार पहिरोमा परी १ जनाको मृत्यु भएको थियो भने आइतबार ताराखोलामा ४ जना र निसीखोलामा ५ जनाको मृत्यु भएको थियो ।




