आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको र देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका हिमाली भू–भागमा आंशिक बादल तथा पहाडी र तराईका भू–भागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ ।

आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ भने कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ ।

आज राति पनि कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । 

देशका तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

प्रकाशित मिति: बुधबार, असोज १४, २०८३  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update