काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ प्रतिनिधिसभाको बैठक सिंहदरबारमा बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले उल्लेख गरेको छ ।
यस्तै मन्त्री गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘निशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन् ।
आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
यसैगरी, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा रहेको सचिवालयले जनाएको छ ।




