संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक आज बस्ने भएको छ । 

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संघीय संसद सचिवालयले जनाएको छ । 

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौं वार्षिक प्रतिवेदन, २०८३ ’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 

यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । 

आजको बैठकमै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३’, नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फछ्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धिन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । 

संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक पनि आज बस्दैछ । दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ ।

यसैगरी प्रधानमन्त्री वालेन्द्र शाहले आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जानकारी दिएको छ । 

बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरीले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गर्नेछिन् । 

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  ०६:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update