काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदमा सहभागी हुन गएको नेपाली पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली टोली गएराति जापानबाट काठमाडौं आइपुगेको हो ।
खेलाडीहरुलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए । समूह चरणमा नेपालले अफगानिस्तानलाई ५ विकेटले हराएर क्वाटरफाइनलमा पुगे पनि क्वाटरफाइनलमा श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएपछि वरीयताका आधारमा प्रतियोगिताबाट बाहिरिएको थियो ।
नेपालले टेष्ट राष्ट्र अफगानिस्तानलाई १२ वर्षपछि हराएका हो । समूह चरणको अन्तिम खेलमा भने वर्षा बाधक बन्दा नेपालले आयोजक जापानसँग अंक बाँडे पनि समूह विजेता बनेको थियो ।
तर नेपाल आइसिसी टी–२० वरियतामा श्रीलंकाभन्दा पछाडि रहेका कारण क्वार्टरफाइनलबाट बाहिरिनु परेको हो । नेपालले एसियाली खेलकुदको क्रिकेटतर्फ हालसम्म क्वार्टरफाइनल चरण पार गर्न सकेको छैन ।


