अमेरिका भ्रमणमा के के गर्दैछन् अर्थमन्त्री डा.वाग्ले ?

काठमाडौं । विश्व बैंक समूहका अध्यक्ष अजय बंगाको निमन्त्रणामा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल दुई दिने भ्रमणका लागि अमेरिकाको वासिङ्टन डी.सी. प्रस्थान गरेको छ । 

यही असोज १९ र २० गते (अक्टोबर ५–६) मा हुने कार्यक्रममा द्विपक्षीय सहयोग अभिवृद्धि, पुनर्निर्माण, एफएटीएफ ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्ने तथा बृहत् आर्थिक सुधारका विविध विषयमा छलफल हुनेछ । 

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय र इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) का उच्च पदस्थ अधिकारीका साथै निजी क्षेत्रका अग्रणी लगानीकर्ताहरूसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

छलफलका क्रममा हालै भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण क्षति पुगेका भौतिक एवं आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालनका विषयमा विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिहरूसँग कुराकानी हुनेछ । 

साथै सडक, विद्युत् प्रसारण लाइन लगायतका महत्त्वपूर्ण पूर्वाधारमार्फत मुलुकभित्र रोजगारी र आर्थिक अवसर सिर्जना गर्न विकास साझेदार एवं निजी क्षेत्रको लगानी अभिवृद्धि गर्ने पहल भ्रमणको मुख्य उद्देश्य रहेको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  ०६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update