काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनको दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित हुन लागेको महाधिवेशनको बन्दसत्रका कार्यक्रम सोमबार र मंगलबार हुनेछन् भने बुधबार र बिहीबार नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम तोकिएको छ ।
महाधिवेशनमा सहभागी हुनेहरुका लागि शुक्रबार र शनिबार नै निर्वाचन समितिले प्रतिनिधिहरूको नाम दर्ता गरेको छ । महाधिवेशन प्रतिनिधिहरुले ३५ सय रुपैयाँ तिरेर नाम दर्ता गर्न सक्नेछन् ।
महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने काँग्रेसले जनाएको छ । शनिबार खुल्लामञ्चमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रवक्ता देवराज चालिसेले महाधिवेशनलाई नीति चयनको अधिवेशनका रुपमा परिणत गर्ने प्रयत्न गरिने जानकारी दिए ।
महाधिवेशनको उद्घाटन समारोहमा कांग्रेसले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीसहितका दललाई निमन्त्रण पठाएको छ ।


