बाढीपहिरोमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण संकलन गर्दै भोटेकोशी गाउँपालिका

 

काठमाडौँ।  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विपद्का कारण बेपत्ता भएका र सम्पर्कविहीन व्यक्तिहरूको आधिकारिक विवरण संकलन सुरू गरेको छ ।

गाउँपालिकाले आधिकारिक विवरण संकलन तथा प्रमाणीकरणका लागि ५ दिने सूचना नै प्रकाशन गरेको छ ।

गत भदौ १० गते आएको बाढी तथा विपद्का कारण बेपत्ता भएका व्यक्तिहरूको विवरण यकिन गर्न सम्बन्धित परिवार, हकवाला तथा सरोकारवालालाई आवश्यक प्रमाण र कागजातसहित निवेदन पेस गर्न सूचना जारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिव न्यौपानेले जानकारी दिए ।

सूचनामा सम्बन्धित व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रियाअन्तर्गत गाउँपालिकाको वडा कार्यालयमा पाँच दिनभित्र निवेदन पेस गर्न भनिएको छ। अन्तिम दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको दिन निवेदन पेस गर्न सकिने गाउँपालिकाले जनाएको छ।

त्यस्तै, बेपत्ता परिवारका सदस्यहरूले आवश्यक विवरण भर्ने ढाँचा सम्बन्धित वडा कार्यालयमार्फत प्राप्त गर्न सक्ने सूचनामा उल्लेख छ।

बाढी तथा विपद्का कारण बेपत्ता भएका व्यक्तिहरूको वास्तविक विवरण संकलन र प्रमाणीकरण गरी अभिलेख व्यवस्थित गर्न यो सूचना जारी गरिएको हो।

गाउँपालिकाले असोज २८ गते सार्वजनिक सूचना प्रकाशन गरेको हो ।

 

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  १४:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update