
काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित राङ्बुसाको जंगलमा लागेको आगो नियन्त्रणमा आएको छ । हेलिकोप्टरको सहारामा आगो नियन्त्रणमा लिइएको हो ।
गत शुक्रवारदेखि सल्किएको आगो तीनदिनसम्म निभ्न सकेको थिएन । आगोले क्षेत्रफल बढाउँदै लगेपछि गाउँपालिकाले स्थानीयवासीलाई आगो नियन्त्रणका लागि अपील गर्नुका साथै हेलिकोप्टरको सहायतामा पानी हाल्ने काम थालिएको थियो ।
पालिकाको पहलमा सिम्रिक एयरको हेलिकोप्टर प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको अध्यक्षको भनाइ छ । सो हेलिकोप्टरको भाडा भने हिमरिभर हाइड्रोपावरले तिरिदिएको छ ।
गाउँपालिका अध्यक्ष पासाङ नुर्पू शेर्पाका अनुसार अरनिको राजमार्ग अन्तर्गत नेपाल र चीनको सिमानामा पर्ने कोदारी क्षेत्रमा लागेको आगोे नियन्त्रणमा लिन सोमबार दिनभर हेलिकप्टरबाट पानी खन्याइएको छ । यति गरेपछि आगो नियन्त्रणमा आएको अध्यक्ष शेर्पाले जानकारी दिए ।
वस्तीमा आगो पस्नबाट रोकिएको उनको भनाइ छ । शुक्रबारबाट सुरु भएको आगलागीबाट ३५ वर्ग किलोमिटर क्षेत्रको जंगल जलेको छ ।