दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा तनहुँका किसान

 

काठमाडौँ । तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री फूल ढकमक्क फुलेको छ । तिहारका लागि लगाइएको फूल दसैँमै फुलेपछि किसानलाई चिन्ता थपिएको छ ।

तिहारसम्म फूल सुक्ने र बजार नपाउने भन्दै किसानहरु चिन्तित भएका हुन् । तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लिस्वाँरामा चण्डेश्वरी फलफूल तथा तरकारी कृषक समूहले व्यावसायिक रूपमा लगाएको सयपत्री तिहारअगावै फूलेको छ ।

यहाँका किसानले सामूहिक र व्यक्तिगत गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा सयपत्री लगाइएको थियो । ४ लाख रुपैयाँ बढी आम्दानी भएपछि यो वर्ष थप क्षेत्रफलमा खेती विस्तार गरेको उनले सुनाइन् । 

भारतबाट आयात कम भएमा आफूहरूको उत्पादनले बजार पाउने उनको आशा छ । 

‘अहिले तिहार केही पछाडी भएकाले फूल एक हप्ता अगाडि नै फूलेको छ । फूल कट्दैन कि भन्ने चिन्ता पनि लागेको छ । भारतबाट फूल पोहोरको जस्तै भित्रिएन भने कट्छ होला भन्ने आशा लागेको छ,’ उनले भनिन् ।

विदेशबाट निर्यात हुने फूललाई विस्थापन गर्ने उदेश्यले कोदो, मकै, बोडी लगाउने बारीमा फूल खेती गरेको उनले बताइन् । 

तनहुँमा म्याग्दे, आँबुखैरेनी गाउँपालिका र शुक्लागण्डकी, भीमाद र व्यास नगरपालिकामा किसानले व्यावसायिक सयपत्री फूल खेती गरेका छन् ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update