काठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी र नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा भण्डारीलाई सो पदमा नियुक्त गरेको हो ।
बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए । उनले संस्थाको गरिमा र नागरिकको निक्षेप सुरक्षाको जिम्मेवारीमा कटिबद्ध हुन निर्देशन पनि दिए ।

यसैगरी सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ ।
अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा सरकारले थापालाई अध्यक्षमा नियुक्त गरेको हो ।
बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराए ।
शपथपछि अर्थमन्त्री डा.वाग्लेले विशेष निर्देशन दिँदै नवनियुक्त अध्यक्ष थापालाई बीमा क्षेत्रको श्रेय वृद्धिमा निडर र निर्धक्क भएर काम गर्न निर्देशन दिए ।



