सेवा प्रवाह प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहमा थप कर्मचारी पठाइने

काठमाडौं । सेवा प्रवाह प्रभावित भएपछि प्रदेश र स्थानीय तहमा थप कर्मचारी पठाइने भएको छ । 

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश तथा स्थानीय तहअन्तर्गत सार्वजनिक सेवा प्रवाह हुने केही कार्यालयमा सेवाप्रवाहलाई थप चुस्त, प्रभावकारी र व्यवस्थित बनाउन थप कर्मचारी आवश्यक देखिएकाले आवश्यकताका आधारमा थप कर्मचारी खटाउने निर्णय गरेको हो । 

मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गतका राजपत्र अनंकति प्रथम श्रेणी (नायब सुब्बा) पदका कर्मचारीलाई अतिरिक्त समूहमा दरबन्दी कायम गरी कामकाजमा खटाउने निर्णय गरेको हो ।

मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा कर्मचारी व्यवस्थापनका लागि आवश्यक कर्मचारी संख्या खुलाएर पठाउन आग्रह गरेको छ ।

मन्त्रालयले केही प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दीअनुसार कर्मचारी पदपूर्ति नहुँदा सेवा प्रवाह तथा नियमित कामकाजमा असर परेको भन्दै यस्तो आग्रह गरेको हो ।

मन्त्रीस्तरीय निर्णयअनुसार कर्मचारी समायोजन ऐन, २०७५ को दफा ९ को उपदफा (१) बमोजिम सम्बन्धित प्रदेश तथा स्थानीय तहको सहमतिमा कर्मचारी खटाइनेछ । 

त्यसरी खटाइएका कर्मचारीको तलब तथा भत्ता सम्बन्धित प्रदेश वा स्थानीय तहबाटै भुक्तानी हुने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २२, २०८३  ०७:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update